निर्माण जिम्मा पाएका ठेकेदार मन्त्री बनिसके, तर बनेन स्वास्थ्यचौकी
POSTED ON : August 27, 2017, IN : Business

सिधा न्युज डटकम 
प्युठान : गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन कांग्रेसका तर्फबाट ०७० सालमा समानुपातिक कोटाबाट सभासद् बने । तत्कालीन ठेकेदार उनी हालै सिँचाइ राज्यमन्त्री भएका छन् । तर, स्वास्थ्यचौकी भने अझै बन्न सकेको छैन ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पाका लेखा अधिकृत झगबहादुर दसौदीका अनुसार ठेकेदार पुनले डेढ वर्षभित्र भवन निर्माणको पूरै काम सम्पन्न गर्ने गरी भ्याटबाहेक ७७ लाख ८८ हजार ६ सय ९५ रुपैयाँमा जिम्मा लिएका थिए ।

०६८ असारमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पामार्फत ‘नेपाल प्रगति÷राप्ती÷उच्च हिमालय जेभी’ले भवन निर्माणको जिम्मा पाएको थियो । ठेकेदार सांसद बनेपछि भवन निर्माणले गति नलिएको स्थानीयको गुनासो छ ।
भवन नहुँदा सेवा प्रवाहमा समस्या देखिएपछि दुई तलाको १६ कोठे भवन निर्माण गर्न लागिएको हो । निर्माण थालिएपछि गाउँले निकै हौसिएका थिए । तर, वर्षौं बितिसक्दासमेत भवन निर्माणले पूर्णता नपाएपछि स्थानीय चिन्तित बनेका छन् । भवन निर्माणका लागि गाउँलेले सम्बन्धित निकायलाई पटक-पटक ताकेता गर्दासमेत सुनुवाइ नभएको स्थानीयले गुनासो गरे ।आजको अन्नपूर्ण पोस्टमा छापिएको छ 
‘निर्माण व्यवसायीलाई पटक-पटक ताकेता गर्‍यौं’, उनले भने, ‘लिखित र मौखिक रूपमा सूचना गर्दा पनि काम अघि बढेन ।’ बैंक ग्यारेन्टी गरिएको नौ लाख नौ हजार रुपैयाँसमेत जफत गरिएको उनले जानकारी गराए । दसौदीका अनुसार कार्यसम्पादन बैंक ग्यारेन्टीबापतको चार लाख ४१ हजार रुपैयाँ जफतका लागि सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ । ‘निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी भइरहेको छ’, उनले भने, ‘गत वर्षको चैतबाट काम सुरु गर्छु भनेका हुन् । तर, अझैसम्म काम सुरु हुन सकेन ।’ एकपटक सम्झौता पत्र थप गरिएको उनको भनाइ छ ।

ठेकेदार पुन हालै नेपाल सरकारको सिँचाइ राज्यमन्त्री भएका छन् । ठेकेदार सांसद हुँदै मन्त्री बने पनि खवाङका सर्वसाधारण भवन अभावमा प्रभावकारी स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनुपरेको गुनासो पोख्छन् ।
स्थानीय यामलाल गिरीका अनुसार भवनको काम बीचमै रोकिएपछि हालसम्म निर्माण गरिएको भौतिक संरचनासमेत जीर्ण बन्दै गएको छ । निर्माणमा संलग्न मजदुरले ज्यालासमेत नपाएको उनले गुनासो गरे । ‘१५ लाखभन्दा बढी ज्याला लिन बाँकी छ’, उनले भने, ‘न भवन बन्यो, न त ज्याला पाइयो।’
पूरै ज्याला नपाएसम्म अधुरो काम सुचारु गर्न नदिने मजदुरले चेतावनी दिएका छन् । पटक-पटक जिल्ला प्रशासन कार्यालय प्युठानमा पुगे पनि आफूहरूको माग सुनुवाइ नभएको मजदुरले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय खलंगाबाट १४ कोष टाढाको दूरीमा दुर्गम गाउँ खवाङ अवस्थित छ । जिल्लाका नौ स्थानीय तहमध्ये अति दुर्गममा नौबहिनी गाउँपालिका पर्छ । गत वर्षको साउनमा आएको बाढीपहिरोले गाउँ क्षतविक्षत बनेको छ ।
चुहिने भवनबाट सेवा दिइरहेको खवाङ स्वास्थ्यचौकी भवन इन्चार्ज ताराबहादुर थापाले गुनासो गरे । ‘बर्खाभरि पानीजति भित्र पस्छ’, उनले भने, ‘कोठा अभावमा वर्थिङ सेन्टर सञ्चालन गर्नसमेत समस्या भएको छ ।’ पुरानो तथा जीर्ण भवनमा रहेका ६ वटा कोठाबाट सेवा दिइरहेको उनले बताए । थापाका अनुसार प्रभावकारी सेवा दिन आठ वटा कोठा आवश्यक पर्छ । ‘अलपत्र भवन पूरा गर्न गाउँपालिकामा पनि लिखित आग्रह गरेका छौँ’, उनले भने, ‘नयाँ स्थानीय तह बनेका छन् ।
अब भवन पूरा हुने आशा छ ।’ बिरामीको चाप बढ्दा सेवा दिन कठिनाइ हुने गरेको उनी बताउँछन् ।भवनको करिब ६५ प्रतिशत निर्माण सकिएको भवन डिभिजन कार्यालयले जनाएको छ । लेखा अधिकृत दसौदीका अनुसार हालसम्म ठेकेदार पुनले ०६९ फागुनसम्म ५३ लाख ५२ हजार नौ सय ८० रुपैयाँ भुक्तानी लिइसकेका छन् । सम्झौताबापत २४ लाख ३५ हजार सात सय १४ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले बताए ।

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.