यस्तो छ सुन तस्करको सञ्जाल : ४३ चिनियाँ नागरिक प्रहरी फन्दामा
POSTED ON : September 10, 2017, IN : News

सिधा न्युज डटकम 
काठमाडौं : भारतीय तथा चिनियाँ तस्करले ०६० सालदेखि रक्तचन्दनको अवैध कारोबारका निम्ति नेपाली भूमि प्रयोग गरे । तातोपानी र रसुवा नाकाका भन्सार कर्मचारी, जिल्लादेखि केन्द्रसम्मका सुरक्षा निकायका उच्च अधिकृत र विभिन्न तहका नेताको संरक्षणमा चलेको यो धन्दा जारी छ । चीनमा विलासी फर्निचर बनाउन प्रयोग हुने रक्तचन्दको अवैध कारोवारमा नेपाली पक्षले पारवहन सहजकर्ताको भूमिका खेल्यो र त्यसबाट लाभान्वित आपराधिक समूह क्रमशः आर्थिक तथा संगठित अपराधसँग समेत जोडिँदै गए ।

यसका कारण नेपालको अन्तर्राष्ट्रिय जगत्मै बदनाम हुँदै जाँदा सरकारले हस्तक्षेप गर्न थाल्यो र तस्कर हच्कन थाले । त्यो अवस्थामा रक्तचन्दनका लागि जति पनि पैसा तिर्न तयार चिनियाँ तस्कर अन्य लाभकारी धन्दातर्फ मोडिए । जसमा डलर, सुन, वन्यजन्तुका अंगप्रत्यंग, जडीबुटीलगायत थुप्रै बस्तु पर्छन्।
जानकारका अनुसार पछिल्ला वर्षमा नेपालमा चिनियाँ तस्करले जरो गाडेका छन् । आवरणमा होटल, रेस्टुराँ र अन्य व्यापार देखिए पनि विभिन्न अवैध धन्दाका कारण चिनियाँ व्यापारी सन्देहको घेरामा छन् ।८८ किलो सुन केरुङ नाकाबाट काठमाडौं ल्याएका चिनियाँ नागरिक वान विई मिङ ठमेलका होटल व्यवसायी हुन् ।
पछिल्लो समय चीनबाट भारी मात्रामा भित्रेका ठानिएका सुन नेपालका सुन पसलमा पनि प्रशस्तै बिक्री हुन्छ । जबकि त्यस्तो सुनका लागि लक्षित गन्तव्य भारतको विशालबजार हो ।गत वर्ष पुसमा प्रहरीले ८ किलो सुनसहित भूगोलपार्कस्थित भाग्यलक्ष्मी ज्वेलर्सका सञ्चालकद्वय विक्रम मित्तल र विवेक मित्तललाई पक्राउ गर्‍यो । उनीहरूलाई भारतीय नागरिक भागिरथ चौधरीले सुन सप्लाई गर्दै आएका थिए ।
चौधरीले ‘मामा’ उपनामका चिनियाँ तस्करबाट सुन बुझेर काठमाडौंका केही सुन पसललाई सप्लाई गर्दै आएका थिए । चिनियाँ तस्करले ल्याएको सुन नेपाली सुन व्यवसायीले खरिद गर्ने यो एउटा चोटिलो उदाहरण बन्यो । उक्त घटनाको अनुसन्धानले चिनियाँ तस्करले भारत मात्रै नभएर नेपालमा समेत आफ्नो जालो विस्तार गर्न खोजेको पुष्टि गरेको थियो ।
०७० असारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३५ किलो सुन कोटेश्वरबाट बरामद गर्‍यो । ट्रक चालक निमा छिरिङ, सुनधनी ग्याम्जो लामा, मनोहरकुमार अग्रवाल र गाडीधनी नाङ्गेल भनिने ओमबहादुर बज्राचार्य पक्राउ परे ।
गाडीको अगाडिको भागमा लुकाएर ल्याइएको सुन तातोपानी नाकाबाट सेटिङमै चिनियाँ तस्करले नेपाल कटाएका थिए । सुराकी विवादमा उक्त मुद्दा अहिले पनि थाती छ ।एक साताअघि सीआईबीले १५ किलो सुनसहित सात जना पक्राउ गर्‍यो । त्यो पनि केरुङ नाका हुँदै काठमाडौं भित्रिएको थियो । चिनियाँ तस्करले नै सुन काठमाडौं ल्याई नेपाली ठेकेदारलाई जिम्मा लगाएको निष्कर्षमा प्रहरी अनुसन्धान अगाडि बढेको छ ।
घटना प्रकृति फरक देखिए पनि चिनियाँ तस्कर नेपाली भूमिमा आपराधिक जालो फैलाउन उद्यत देखिन्छन् । सीआईबी, महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरीको विशेष ब्युरोको अनुसन्धानबाट नेपालमा चिनियाँ तस्करको जालो फैलँदै गएको देखाएको छ ।
रक्तचन्दन कारोबारमा चिनियाँ तस्करले जुन हिसाबले लगानी गरेका थिए, ठयाक्कै त्यही ढंगमा यतिबेला सुनमा लगानी भइरहेको अनुसन्धानकर्ताको बुझाइ छ ।१३ वर्षयता उपत्यकासहित काभ्रे र सिन्धुपाल्चोकमा मात्रै करिब ४० टन रक्तचन्दन बरामद भएको छ । १८ करोड रुपैयाँ बराबरका दुई लाख २९ हजार तीन सय ४६ किलो बरामद रक्तचन्दन कुहिने अवस्थामा छन् ।
सुन लिएर आउने डलर लिएर जाने
०७३ माघमा झन्डै तीन लाख अमेरिकी डलर र अन्य विदेशी मुद्रासहित तीन चिनियाँ नागरिक पक्राउ परे । झोेङ डौफाङ, झौ सिलियोन र झाओलियाङ फेङलाई प्रहरीले नागढुंगाबाट नियन्त्रणमा लिएको थियो । यो रकम उनीहरूले ठमेलकै मनि एक्चेन्जबाट सटही गरेको दाबी प्रहरीको छ । खासगरी चीनबाट सुन ल्याएपछि तस्करले उनीहरूलाई डलर साटेर ल्याउन प्रयोग गरेको प्रहरीको बुझाइ छ ।
नागढुंगाबाटै ६ जना चिनियाँ नागरिक विदेशी मुद्रासहित वैशाख २७ मा पक्राउ परे । याओ जिनवान, ताङ, युछिङ, झेङ सुयान, झाओ जिनछेन, सी झियुन, लियू छियोमोई नामक चिनियाँ नागरिकबाट प्रहरीले तीन लाख ४९ हजार तीन सय अमेरिकी डलर, ६ हजार आठ सय ५० युरो, १७ हजार सात सय ८१ चिनियाँ यूआन, २९ लाख ५० हजार जापानी एन, दुई हजार दुई सय स्वीस फ्रेंक, एक हजार चार सय अस्ट्रेलियन डलर, एक हजार एक सय पाउन्ड स्टर्लिङ र २४ हजार नेपाली रुपैयाँ बरामद गरेको थियो ।
‘सुन तस्करीबाट पाएको नेपाली पैसालाई डलर र अन्य विदेशी मुद्रामा सटही गरेको अनुसन्धानले देखाएको छ’, एक उच्च प्रहरी अधिकृतले भने, ‘चीनबाट सुन ल्याउने र काठमाडौंमा बिक्री गरेपछि डलर लिएर जाने प्रवृत्ति बढेको छ ।’
यी दुई घटनाले चिनियाँ नागरिक डलर तस्करीमा प्रयोग भएको पुष्टि हुन्छ । त्यसो त चिनियाँ नागरिकले डलर तस्करीका लागि सुरक्षा संवेदनशील क्षेत्र विमानस्थललाई समेत प्रयोग गरेका छन् ।
विमानस्थलमा कडा सुरक्षा जाँच हुने भएपछि सडकमार्गबाट डलर तस्करी गर्ने काइदा रोजे पनि चिनियाँ तस्कर पक्राउ परेका थिए । ०७२ भदौ १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक यि वाङ पक्राउ परे । उनले चुरोटको बट्टाभित्र ६० हजार डलर राखेर लैजाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानपछि उनी चार पटकसम्म नेपाल आएर डलर तस्करी गरेको पत्ता लागेको खुलेको थियो ।
०७१ चैतमा विमानस्थलबाटै चिनियाँ महिला यिङ लु एक लाख १३ हजार दुई सय ५० अमेरिकी डलरसहित पक्राउ परेकी थिइन् । उनी डलर लिएर स्वदेश जाने क्रममा प्रहरी नियन्त्रणमा परेकी थिइन् ।
रक्तचन्दन, सुन र डलरको कारोबारबाहेक लागुऔषध, वन्यजन्तुका अंग, जडीबुटी तस्करी र यौन कोठी सञ्चालनसमेतमा चिनियाँ नागरिक पक्राउ परेका छन् । ०६६ कात्तिक १८ मा ठमेलमा फ्ल्याट भाडामा लिएर कोठी सञ्चालन गर्दै आएका चिनियाँ नागरिक पक्राउ परे ।महानगरीय प्रहरीले पक्राउ गरेका चिनियाँ नागरिकको नाम सार्वजनिक नगरी ६ जना चिनियाँ युवतीलाई डिपोट गरेको थियो ।गत वर्ष जेठ १६ मा चिनियाँ नागरिक चुन मान तीन किलो एक सय ७७ ग्राम कोकिनसहित पक्राउ परिन् ।
सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्की पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाएर सुन, लागुऔषध, वन्यजन्तुको अंग तस्करी गर्न अन्तर्राष्ट्रिय आपराधिक गिरोह सक्रिय देखिएको बताउँछन्।
आपराधिक गतिविधिमा संलग्न मानिस जुनसुकै मुलुकका भए पनि कानुनअनुसार कारबाहीको दायरामा आउने उनी बताउँछन् ।
सीमामा निगरानी जरुरी’
– हेमन्त मल्ल, पूर्वडीआईजी
नेपालमा चिनियाँको गतिविधि ०५० सालदेखि सुरु भएको देखिन्छ । सुरुमा कन्स्ट्रक्सनको निहुँमा छिरेका उनीहरूले ठमेल, बानेश्वरलगायत ठाउँमा आफैं बस्न गेस्ट हाउस बनाए । पछि रेस्टुराँ र ठूला होटल खोलेर व्यापार सुरु गरे । कति अहिलेसम्म पनि व्यापारमै छन् भने कति गइसके । ०५८ पछि पर्यटक एवं व्यवसायीका रूपमा चिनियाँ भित्रिन थालेका हुन् । केही चिनियाँ नागरिक व्यवसायकै आडमा अहिले रक्तचन्दन, सुन, डलर तस्करीमा समेत संलग्न रहेको पाइन्छ ।
सुन भारतमा बढी खपत हुन्छ, रक्तचन्दन चीनमा । यी दुवै वस्तु एक मुलुकबाट अर्कोमा जाँदा नेपाली भूमि प्रयोग भएका छन् । यसका पछाडि नेपालको खुला सिमाना र कमजोर प्रशासन संयन्त्र नै कारण हुन् । पहिला तातोपानी नाका रक्तचन्दन र सुन तस्करीका लागि प्रयोग भएको थियो भने अहिले रसुवाको केरुङ नाका । सबै गाडी र मानिस ‘स्क्रिनिङ’ गर्न नसकिए पनि लागातार एउटै सवारी र मानिसको मुभमेन्ट देखिएपछि उनीहरूको निगरानी गर्नुपर्छ ।
त्यो कुरामा राज्य चुकेको छ । त्यसैको फाइदा उठाएर चिनियाँ तस्करले सेटिङमा सुन भित्र्याउँदै आएको विभिन्न घटनाक्रमले देखाएको छ । चिनियाँ तस्करले नेपाली नागरिक प्रयोग गरी अवैध कारोबारको जालो फैलाएका छन् । तस्करले नेपालमा भएका केही व्यवसाय नेपालीकै नाममा दर्तादेखि लगानीसमेत गर्दै आएका छन् ।
यो डरलाग्दो विषय हो । न्यूनतम पैसा आवश्यक परेका व्यक्तिलाई प्रभावमा पारेर तस्करको जालो फैलाउन उनीहरू सक्षम भएका छन् । कतिपय घटनामा प्रहरीको मिलेमतो देखिएपछि उनीहरू कारबाहीमा पनि परेका छन् । तर, समग्रमा समस्या समाधानका लागि सीमामा कडाइसँगै चिनियाँ पर्यटक प्रवेशको औचित्य पुष्टि हुने गरी सरकारले स्वीकृति दिँदा राम्रो हुन्छ ।

चिनियाँ नागरिक पक्राउ शृंखला

०७४ वैशाख २७
दुई लाख ७४ हजार अमेरिकी डलरसहित तीनजना पक्राउ
०७४ असार २१
२९६ थान यार्सागुम्बासहित एक पक्राउ
०७४ साउन १४
कछुवाको हड्डी र मुकुन्डोसहित पक्राउ
०७३ चैत २०
८० हजार ६ सय चार अमेरिकी डलर, दुई हजार नौ सय २५ चाइनिज यूआन र ३४ हजार भारतीय रुपैयाँ र रुद्राक्षका मालासहित एक पक्राउ ।
०७३ माघ १
साढे दुई लाख अमेरिकी डलर, एक लाख १८ हजार दुई सय १० यूरोसहित ६ जना पक्राउ
०७३ पुस १५
हुन्डीको ९५ लाख नेपाली रुपैयाँसहित चिनियाँ नागरिक झाओ यु पक्राउ
०७३ जेठ १६
तीन किलो एक सय ७७ ग्राम कोकिनसहित चुन मान पक्राउ
०७२ भदौ १०
६० हजार अमेरिकी डलरसहित यी वाङ पक्राउ
०७२ माघ १९
जडीबुटी र २ किलो रक्तचन्दनसहित तीनजना पक्राउ
०७१ चैत १२
एक लाख १३ हजार अमेरिकी डलरसहित यिङ लु पक्राउ
०७१ भदौ २२
६४ किलो रक्तचन्दनसहित दुई चिनियाँ नागरिक पक्राउ
०७१ जेठ १७
१० हजार अमेरिकी डलरसहित एक पक्राउ
०७० माघ १
८ किलो सुनसहित चेन रोङ जी पक्राउ
०७० चैत २२
४ लाख अमेरिकी डलरसहित १४ तिब्बती पक्राउ
०७० जेठ २३
हि वान र लि याङग मयूरको प्वाँख र दुई किलो रक्तचन्दनसहित पक्राउ
०६९ कात्तिक ६
दुई हजार ६ सय अवैध यूआनसहित दुई चिनियाँ पक्राउ
०६७ जेठ ८
४६ किलो सालकको खपटासहित दुई चिनियाँ पक्राउ

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.